Add parallel Print Page Options

मानिसहरू दुष्ट हुन्छन्

पृथ्वीमा जब मानिसहरूको संख्या बढ्दै गयो, तिनीहरूले कन्याहरूलाई जन्म दिए। परमेश्वरका छोराहरूले ती मानव कन्याहरूलाई मन पराए। यसकारण परमेश्वरका छोराहरूले आफूले रोजेका केही कन्याहरूलाई विवाह गरे।

तब परमेश्वरले भन्नुभयो, “तिनीहरू मरणशील भएकाले मानव रुपमा लामो समयसम्म बाँच्ने छैनन्। तिनीहरूको आयु केवल 120 बर्षसम्म मात्र हुने छ।”

यस पृथ्वीमा नपील मानिसहरू त्यस समय र त्यसपछि पनि थिए। परमेश्वरका छोराहरूले जब मनुष्य कन्याहरूसित शारीरिक सम्बन्ध राखे तिनीहरूले परमेश्वरका छोराहरूका नानीहरू जन्माए। तिनीहरू प्राचीन समयबाट नै प्रसिद्ध लडाकुहरू थिए।

परमप्रभुले देख्नु भयो पृथ्वीका मानिसहरूमा दुष्टता अत्यन्तै धेरै थियो अनि तिनीहरूले मनमा जे चिताउँद थिए सधैँ विचारहरू नै दुष्टपूर्ण हुन्थ्यो। अनि परमप्रभु पृथ्वीमा मनुष्य जाति सृष्टि गरेकोमा दुःखी हुनुभयो। त्यसले परमप्रभुलाई हृदयबाट नै दुःखी तुल्यायो। तब परमप्रभुले भन्नुभयो, “पुथ्वीबाट नै यी मानिसहरूलाई म ध्वंश पार्ने छु। म मानिस, घस्रने र अन्य पशुहरू अनि आकाशमा उड्ने चराहरू जे मैले सृष्टि गरें म सबैलाई ध्वंश पार्नेछु।”

तर नूहले परमप्रभुलाई खुशी तुल्याए।

नूह र महा-जलप्रलय

यो नूहको पारिवारीक इतिहास हो। नूह उसको जीनवनभरि एकजना असल व्यक्ति थिए। नूहले सधैँ परमेश्वरको अनुशरण गर्द थिए। 10 नूहका तीन छोराहरू शेम, हाम र येपेत नाउँ भएका थिए।

11 परमेश्वरको नजरमा पृथ्वी भ्रष्ट थियो। मानिसहरूले पृथ्वीमा हिंसा ब्याप्त पारेका थिए। 12 परमेश्वरले पृथ्वीमा देख्नु भयो पृथ्वीका मानिसहरूले आफ्नो जीवन भ्रष्ट पारेकोले पृथ्वी नै नष्ट भएको थियो।

13 तब परमेश्वरले नूहलाई भन्नुभयो, “मानिसहरूको हिंसाले पृथ्वी भरिएकोले यसमा भएका सबै प्राणीहरूलाई नष्ट पार्न मैले निर्णय लिएँ। यसर्थ पृथ्वीसितै तिनीहरू सबैलाई म झट्टै नष्ट पार्नेछु। 14 तैंले गोपेर काठको एउटा जहाज बनाउनु र त्यसमा कोठाहरू बनाउनु र त्यसको भित्र र बाहिर पट्टी अलकत्राले लिप्नु।

15 “त्यो जहाज 300 हात लामो, 50 हात चौंडा र 30 हात अल्गो बनाउनु र 16 त्यसमा छाना लगाउनु। तब छानाको एक हात तल झ्याल बनाउँनु। त्यस जहाजको एकापट्टी एउटा ढोका राख्नु र त्यसमा पहिलो, दोस्रो र तेस्रो तला बनाउनु।

17 “मेरो भागमा म यस धर्तीका सबै प्राणीहरूको सर्वनाश पार्न खतरनाक बाढी ल्याइरहेको छु। सजीव वस्तुहरू मर्नेछन्। 18 तर म तँसँग एउटा करार गर्नेछु। जहाज भित्र पस्दा तैंले आफूसँग आफ्नो छोराहरू, पत्नी, अनि बुहारीहरू लानु। 19 अनि आफूसँग प्रत्येक जोडी जीवित प्राणी जहाज भित्र लानु, ती जीवित प्राणीहरू सबै भाले-पोथीको जोडी होस् र तिनीहरू पनि तिमीहरूसितै बाँचिरहुन्। 20 जीवन रक्षाको निम्ति प्रत्येक जातका पशु चरा र घस्रने प्राणीहरू त्यहाँ तिमीहरूसित रहनेछन्। 21 अनि तेरो भागमा सबै प्रकारको खाद्य सामग्री भोजनको लागि जम्मा गर्नु। तेरो र ती सब प्राणीहरूका निम्ति भोजन हुनेछ।”

22 परमेश्वरको आज्ञा अनुसार नूहले सबै काम पूरा गर्यो।

जलप्रलय प्रारम्भ

त्यसपछि परमप्रभुले नूहलाई भन्नुभयो, “आफ्नो पुरै परिवारसित जहाजमा पस किनभने पृथ्वीमा अहिले जीवित रहेका मानिसहरूमा तँ मात्र असल मानिस छस् भनी मैले देखें। सात जोडी, सातवटा भाले र सातवटा पोथी शुद्ध पशुहरू र एक जोडी एउटा भाले र एउटा पोथी अशुद्ध पशु। अनि सबै जातका चराहरूबाट पनि सातवटा भाले र सातवटा पोथी लिएर जहाजभित्र पसा। यी पशु-चराहरू अरू सबै ध्वंश गरिए पछि यिनीहरूका जातिहरूलाई पृथ्वीमा बचाई राख्नु यी सब तैंले लानु पर्छ। अबदेखि सातौं दिनमा म यस पृथ्वीमा चालीस दिन चालीस रात पानी पार्नेछु अनि यस पृथ्वीबाट मैले सृष्टि गरेका सबै जीवित प्राणीहरू ध्वंश पार्नेछु।” अनि परमप्रभुबाट भएको आज्ञा नूहले पूर्ण रुपले पालन गरे।

जब पृथ्वीमा प्रलय आयो नूह 600 बर्ष पुगेका थिए प्रलयबाट बाँच्नको निम्ति नूह आफ्नो छोराहरू अनि पत्नी र बुहारीहरू लिएर जहाजभित्र पसे। 8-9 तब प्राणीहरू, नर र नारी, जोडी नूहकहाँ जहाजमा आए। परमेश्वरले आज्ञा गर्नु भए अनुसार धर्तीमा सबै स्वच्छ, अस्वच्छ प्राणीहरू तथा घस्रिने प्राणीहरू आए। 10 अनि ठीक सात दिनपछि पृथ्वीमा जल-प्रलयको पानी पर्नलाग्यो।

11 नूहको जीवनको 600 बर्षको दोस्रो महीनाको सातौं दिनमा जमीनबाट मूल फुट्‌यो अनि आकाशमा ठूला-ठूला प्वालहरू बनिए। 12 अनि पृथ्वीमा मूसलधारे पानी चालीस दिन चालीस रात एकोहोरो परिरह्यो। 13 त्यही दिन नूह, उसकी पत्नी, छोराहरू शेम, हाम र येपेत अनि बुहारीहरू जहाज भित्र गए। 14 ती मानिसहरू, प्रत्येक जातका भाले पोथी गरी जोडी जोडी वन पशुहरू, घरमा पालिने पशुहरू, भूँईमा घस्रने जन्तुहरू अनि प्रत्येक जातका चराहरू जहाजमा पसे। 15 यी सबै पशु-चराहरू नूहसँगै जहाजमा पसे। सास फेर्ने सबै जीवित प्राणीहरू भाले र पोथीको जोडीको दलमा ती पशु चराहरू जहाजमा आए। 16 यी सबै पशुहरू परमेश्वरले नूहलाई दिनु भएको आज्ञा अनुसार जोडी जोडी भएर आए। त्यसपछि परमप्रभुले जहाजको ढोका बन्द गरिदिनु भयो।

17 जल प्रलय पृथ्वीमा चालीस दिन चालीस रातसम्म भयो। पानी बढेर जहाजलाई जमीनबाटमाथि उचाल्न थाल्यो। 18 पानीको स्तर माथि उठ्‌यो अनि जहाज पानी माथि तैरिन थाल्यो। 19 पानी यति साह्रो बढ्यो अग्लो-अग्लो पहाडहरू पनि पानीले ढाकिए। 20 एकोहोरो पानी परिरहेकोले पृथ्वीमा यति धेरै पानी भयो अग्ला पहाडहरू पनि पानीमा बीस फिट डुबे।

21-22 पृथ्वीमा बस्ने सबै पुरुष र स्त्रीहरू घरेलु पशुहरू, र जंङ्गली पशुहरू, पृथ्वीमाथि उड्ने सबै प्राणीहरू अनि सबै सजीव वस्तुहरू जो सुख्खा भूमिमा थिए मरे। 23 यसर्थ पृथ्वीको सतहमा रहने मानिसहरू पशुहरू, घस्रिने जन्तुहरू अनि आकाशमा उड्ने प्राणीहरू परमेश्वरले नष्ट पार्नु भयो। यी सब प्राणीहरूलाई पृथ्वीबाट नष्ट गरियो। केवल नूह र उनीसँगै जहाजमा भएका मानिसहरू र अन्य प्राणीहरू मात्र जीवित रहे। 24 एक सय पचास दिनसम्म परेको पानी पृथ्वीमाथि बगिरह्यो।

जल प्रलयको अन्त

नूह र उनीसित जहाजमा जो मानिस पशु र चराहरू थिए, तिनीहरूलाई परमेश्वरले सम्झनु भयो। परमेश्वरले पृथ्वीमा हावा बहाउनु भयो। र पानी बिस्तारै घट्न थाल्यो।

आकाशबाट पानी पर्न छोडे पछि भूमि मुनिबाट पनि पानी बग्न छोड्यो। त्यसपछि बिस्तारै जमिनमा पानी घट्न थाल्यो। 150 दिन पुगेपछि पानी घटेको थियो अनि सातौं महीनाको सत्रौं दिन अरारात पर्वतमा जहाज अडियो। यसरी पानी दशौं महीना नपुगुन्जेलसम्म घटिरह्यो। महीनाको पहिला दिन पर्वतको चुचुराहरू देखिए।

त्यसपछि चालीसौं दिनको अन्तमा नूहले जहाजको ढोका खोलेर एउटा कागलाई उडाई दिए। अनि त्यो काग पृथ्वीमा पानी नसुकुन्जेलसम्म उडेर जाँदै-फर्कंदै गरिरह्यो। त्यसपछि उनले फेरि पृथ्वीको सतहमा पानी सुकीसकेको छ वा छैन जान्न जहाजबाट एउटा ढुकुर उडाइ दिए।

तर त्यस ढुकुरले पृथ्वीमा कतै आफ्नो पाऊ राख्ने ठाउँ पाएन। जमीनमा कतै पाऊ राख्ने ठाउँ नपाएर त्यो ढुकुर फर्केपछि नहुले हात फिंजाएर त्यसलाई समाती जहाजभित्र पसाए।

10 नूहले अझै सात दिन पर्खेर फेरि त्यस ढुकुरलाई जहाजबाट बाहिर उडाइदिए, 11 अनि त्यो ढुकुर साँझमा फेरि जहाजमा फर्किएर आयो। यस पल्ट नूहले पृथ्वीको सतहबाट पानी सुकेको चाल पाए कारण यस पल्ट त्यस ढुकुरले आफ्नो चुच्चोमा एउटा भद्राक्षको पात चेपेर ल्याएको थियो। 12 त्यसपछि नूहले फेरि सात दिनसम्म पर्खे र त्यही ढुकुरलाई जहाजबाहिर उडाइ दिए तर यस पल्ट त्यो ढुकुर फर्केर नूह भएको जहाजमा आएन।

13 नूहको उमेरको 601 बर्ष भएको थियो पहिलो महीनाको पहिलो दिन पृथ्वीको सतहमाथि पानी पूर्णरुपले सुक्यो। यसर्थ नूहले जहाजको ढोका खोलेर हेर्दा देख्यो पृथ्वीको सतहमा पानी सुकिसकेको थियो। 14 दोस्रो महीनाको सत्ताईसौं दिनमा पृथ्वीको सतहबाट सम्पूर्ण रूपले पानी सुकेको थियो।

15 तब परमेश्वरले नूहलाई भन्नुभयो, 16 “तँ, तेरी पत्नी, तेरा छोराहरू र बुहारीहरू लिएर जहाज बाहिर आइज। 17 जहाजमा तँसँग जे जति चराहरू, पाल्तू जनावर, वनका जनावार भूमिमा घस्रने जन्तुहरू ती सब भूमिमा ओह्राल जसले गर्दा तिनीहरूले पृथ्वीमा आफ्नो सन्तान बढाउन्, पशुहरूले तिनीहरूको संख्या पृथ्वीमा बढाउन्।”

18 यसर्थ, नूह उनका छोराहरू, उनकी पत्नी तथा बुहारीहरू जहाजबाट बाहिर भूमिमा निस्के। 19 आफ्नो-आफ्नो परिवार, प्रत्येक जनावर, घस्रने प्राणीहरू, प्रत्येक चरा जो पनि पृथ्वीमाथि हिँड़डुल गर्छन् तथा आकाशमा उड्छन् ती सबै पृथ्वीमा ओर्लिए।

20 त्यसपछि नूहले परमप्रभुको निम्ति एउटा वेदी उभ्याए र उनले केही पवित्र पशुहरू र पवित्र चराहरू परमप्रभुको निम्ति वेदीमा होमबलि चढाए।

21 परमप्रभुले त्यस बलिदानहरूको बास्ना लिएपछि मनमा भन्नुभयो, “फेरि पृथ्वीलाई कहिल्ये पनि सराप दिने छैन। यसर्थ अब उसो कहिले पनि यस प्रकारका जीवित प्राणीहरूलाई नष्ट पार्ने छैन। 22 जहिलेसम्म पृथ्वी रहन्छ, बिउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, दिन अनि रातको कहिल्यै अन्त हुनेछैन।”